नेपाली मौलिक लोकसंस्कृतिलाई समेटेर तयार गरिएको नयाँ लोकदोहोरी गीत ‘सालैको पातैले’ यतिबेला दर्शकमाझ चर्चामा आउन थालेको छ। गायक शिब कुन्जे मगर र गायिका सरिता सुनार को स्वर रहेको उक्त गीतमा नेपाली गाउँघरको मौलिकपन झल्किएको देख्न सकिन्छ।
विशेषगरी भिडियोमा कलाकार थमन कायल र नन्जिता सुनार ले प्रस्तुत गरेको मौलिक नृत्य अहिले दर्शकको मुख्य आकर्षण बनेको छ। दुवै कलाकारले नेपाली लोकभाकासँग मेल खाने शैलीमा गरेको नाच, हाउभाउ र प्रस्तुतीले भिडियोलाई अझ जीवन्त बनाएको छ। उनीहरूको जोडीले गाउँघरको वास्तविक परिवेशलाई झल्काउने गरी प्रस्तुत गरेको नृत्यले धेरैको मन जितिरहेको छ।
विशेषतः नन्जिता सुनार को आकर्षक अभिव्यक्ति र लोकशैलीमा देखिएको नृत्य प्रस्तुति दर्शकले निकै रुचाएका छन् भने थमन कायल को ऊर्जा भरिएको अभिनय र मौलिक स्टेपले भिडियोमा छुट्टै रौनक थपेको छ। पछिल्लो समय हराउँदै गएको मौलिक लोकनाचलाई उनीहरूले भिडियोमार्फत पुनः दर्शकमाझ ल्याउने प्रयास गरेको देखिन्छ।
गीतमा शब्द तथा लय स्वयं शिब कुन्जे मगर ले सिर्जना गरेका हुन्। भिडियो निर्देशन बरुन तामङले गरेका हुन्। मौलिक कला, संस्कृति र लोकनृत्यलाई प्राथमिकतामा राखेर निर्माण गरिएको ‘सालैको पातैले’ ले नेपाली लोकदोहोरी क्षेत्रमा नयाँ स्वाद थप्ने अपेक्षा गरिएको छ।
