काठमाडौं – तीजको रौनक सुरु भएसँगै लोकप्रिय लोकदोहोरी कलाकार दिदी–भाइ जोडी रेजिना परियार र सुमन परियारको सहकार्यमा बनेको नयाँ मौलिक तीज गीत ‘राता मकै’ सार्वजनिक भएको छ।
रेजिनाकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीतले बजारमा आएको केही घण्टामै स्रोतामाझ राम्रो प्रतिक्रिया पाइरहेको छ।
गीतको शब्द रचना रेजिनाले स्वयं गरेकी छिन् भने लय सुमन परियारले सिर्जना गरेका छन्। रेजिनाको एकल स्वरमा रेकर्ड भएको ‘राता मकै’ मौलिक शैलीमा तयार भए पनि यसको भिडियो भने आधुनिक प्रस्तुतीकरणमा छायांकन गरिएको छ, जसले गीतमा ‘सुनमा सुगन्ध’ थपिदिएको छ।
भिडियोमा सुमन परियार र संजना गुरुङ्गको आकर्षक अभिनय देख्न सकिन्छ। बिक्रम चौहानको निर्देशनमा बनेको यस भिडियोमा गाउँघरको मौलिक संस्कार, तीजको रमाइलोपन र आधुनिक शैलीबीचको सुन्दर मेल देख्न पाइन्छ।
लोकदोहोरी क्षेत्रमा छुट्टै पहिचान बनाएका रेजिना र सुमन परियार दिदी–भाइको यस सहकार्यलाई दर्शकहरूले विशेष रुचाउने विश्वास गरिएको छ।
तीजको उत्सवलाई अझै रमाइलो बनाउने उद्देश्यका साथ तयार भएको यस गीतले महिलाको उत्साह, संस्कार र मौलिकतालाई नयाँ ढङ्गले प्रस्तुत गरेको छ।
