नेपाली म्युजिक भिडिओमा प्रेम, पीडा र विरहका कथा पर्दामा उतार्ने परिचित अनुहारमध्ये एक हुन् बिक्रम बुढाथोकी। एक दशकभन्दा लामो समयदेखि मोडलिङमा सक्रिय बिक्रमले अहिलेसम्म ५ सयभन्दा बढी म्युजिक भिडिओमा अभिनय गरिसकेका छन्।विशेषगरी चर्चित गायक प्रमोद खरेलका गीतमा उनको अभिनय दर्शकले निकै रुचाएका छन्। प्रमोद खरेलसँग मात्रै २ सयभन्दा बढी गीतमा सहकार्य गरेको बिक्रम बताउँछन्। उनीसँग गरेका थुप्रै म्युजिक भिडिओ अहिले पनि दर्शकमाझ लोकप्रिय छन् र उनका सर्वाधिक हेरिएका गीतमध्ये धेरैजसो प्रमोद खरेलको स्वरमा रहेका गीतहरू पर्छन्।बिक्रमको म्युजिक भिडिओ यात्रा भने ‘आई लभ यू’बाट सुरु भएको हो। नरेश खातीको शब्द तथा संगीत र मेक्सम खातीको स्वरमा रहेको उक्त गीतबाट मोडलिङमा प्रवेश गरेका उनले त्यसपछि ‘म बिना नि बाँच्न’, ‘सपनीमा तिमी आउँदा’, ‘तिमीलाई माया गर्ने मान्छे अर्कै भए पनि’ लगायतका गीतमा अभिनय गरे।तर उनको करियरलाई गति दिने महत्वपूर्ण काममध्ये एक बन्यो—सन्तोष केसीसँगको सहकार्यमा आएको ‘जसलाई धेरै माया गर्थे’। यो गीत बिक्रमको करियरमा करोड क्लबमा पुग्ने पहिलो गीत बन्यो। गीतले राम्रो प्रतिक्रिया पाएपछि उनलाई लगातार म्युजिक भिडिओमा काम गर्ने अवसरहरू आउन थाले।त्यसपछि उनको अभिनय यात्रा झनै फराकिलो बन्यो। शिव परियारको स्वरमा रहेको ‘धोकेबाज’, रमेशराज भट्टराईको ‘टन्न पैसा कमाउन मन थ्यो’ लगायतका गीतमा पनि उनको अभिनय दर्शकले मन पराए। एकपछि अर्को लोकप्रिय गीतमा देखिन थालेपछि बिक्रम नेपाली म्युजिक भिडिओका व्यस्त मोडलका रूपमा स्थापित हुँदै गए। प्रमोद खरेलसँगको लामो सहकार्यसँगै शिव परियार, अञ्जु पन्त, स्वरूपराज आचार्य, प्रताप दास, निशान भट्टराई, एलिना चौहान, रचना रिमाल, समीक्षा अधिकारी, प्रविशा अधिकारीलगायतका चर्चित गायक–गायिकाका गीतमा पनि उनले अभिनय गरिसकेका छन्। तर आजको यो पहिचानसम्म आइपुग्नु बिक्रमका लागि त्यति सहज भने थिएन। उनको बाल्यकाल दाङको धापुर, रत्नपुरमा बित्यो। सानैदेखि नृत्यमा रुचि राख्ने उनी स्कुलका कार्यक्रमदेखि देउसी–भैलोसम्म नाच्थे। मनोरञ्जनका लागि सुरु भएको त्यही रुचि विस्तारै कलाकारिताप्रतिको आकर्षणमा बदलिँदै गयो।जीवनको एउटा चरणमा उनी वैदेशिक रोजगारीका लागि कतार पनि पुगे। तर विदेश पुगेपछि पनि उनको कलाकार बन्ने चाहना रोकिएन। कतारमा हुने मेला तथा शुक्रबारका विभिन्न कार्यक्रमहरूमा सहभागी हुँदै उनले आफ्नो नृत्यप्रतिको रुचिलाई निरन्तरता दिइरहे।त्यही क्रममा केही अग्रजहरूले उनलाई म्युजिक भिडिओमा काम गर्न सुझाव र हौसला दिए। त्यसपछि नेपाल फर्किएर उनले ‘आई लभ यू’बाट औपचारिक रूपमा म्युजिक भिडिओको यात्रा सुरु गरे।सुरुमा भने बिक्रमको योजना लामो समय नेपाल बस्ने थिएन। केही महिना काम गरेर फेरि विदेश फर्किने सोच थियो। तर सुरुआती काममा दर्शकबाट पाएको प्रतिक्रियाले उनको सोच नै बदलिदियो।‘सुरूमा छ/सात महिना बस्छु, काम गर्छु अनि फेरि फर्किन्छु भन्ने सोचेको थिएँ। तर यहाँ काम गर्दै जाँदा एउटा नशाजस्तो हुन्छ। सुरूआती कामहरू दर्शकले रुचाइदिनुभयो। चार/पाँचवटा काम राम्रो भएपछि मलाई यहीँ केही गर्नुपर्छ भन्ने लाग्यो,’ बिक्रम सम्झन्छन्।त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेन। काम थपिँदै गयो, गीतहरू लोकप्रिय हुँदै गए र म्युजिक भिडिओमा उनको उपस्थिति पनि बलियो बन्दै गयो।करिब एक दशकभन्दा लामो समय यस क्षेत्रमा बिताइसकेका बिक्रमका लागि मोडलिङ केवल पर्दामा देखिने माध्यम मात्र रहेन। यसै क्षेत्रबाट उनले आर्थिक रूपमा पनि राम्रो उपलब्धि हासिल गरेको बताउँछन्। तर पैसाभन्दा ठूलो उपलब्धि भने दर्शकले दिएको पहिचान भएको उनको बुझाइ छ।‘यो क्षेत्रले मलाई जति दिनुपर्ने हो, त्योभन्दा बढी दिएको जस्तो लाग्छ। सरल तरिकाले काम गर्दा पनि दर्शकले रुचाइदिएपछि काम हुँदो रहेछ भन्ने मैले यहीँबाट सिकेको छु,’ उनी भन्छन्।लामो यात्राका क्रममा उनले विभिन्न अवार्ड तथा सम्मानसमेत प्राप्त गरेका छन्। हालै चौथो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड २०८३ बाट उनले ‘दशकका सम्मान’ प्राप्त गरेका छन्।अब भने बिक्रमको लक्ष्य म्युजिक भिडिओमा मात्र सीमित छैन। उनी फिल्ममा पनि आफ्नो अभिनय क्षमता देखाउने तयारीमा छन्। केही फिल्मका लागि कुराकानी भइरहेको र आफूलाई मन पर्ने कथा तथा चरित्र पाए फिल्ममा काम गर्ने उनको योजना छ।फिल्ममा पनि एउटै प्रकारको भूमिकामा सीमित हुनुभन्दा फरक चरित्रमा आफूलाई प्रस्तुत गर्ने उनको चाहना छ।‘फिल्ममा गएपछि आफूलाई सुहाउने चरित्र गर्न मन छ। सकारात्मक मात्रै होइन, बाहिरबाट नेगेटिभ देखिए पनि अन्त्यमा सकारात्मक सन्देश दिने पात्र भयो भने त्यस्तो भूमिका पनि गर्न चाहन्छु,’ बिक्रम भन्छन्।५ सयभन्दा बढी म्युजिक भिडिओ, सयौँ गीत र दर्जनौँ चर्चित गायक–गायिकासँगको सहकार्यपछि अब बिक्रम बुढाथोकीको यात्रा नयाँ मोडतर्फ अघि बढ्दैछ। म्युजिक भिडिओमा प्रेम र विरहका कथा बोकेर दर्शकमाझ चिनिएका बिक्रम अब त्यही अनुभवलाई फिल्मको ठूलो पर्दामा फरक चरित्रमार्फत प्रस्तुत गर्ने तयारीमा छन्।
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति
