काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५, गोठाटारस्थित पहेँलो पुल नजिक शनिबार राति भएको आगलागीमा १४ वटा पसलमा क्षति पुगेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार राति करिब ९ः१५ बजे रवीन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदामबाट आगलागी सुरु भएको थियो। प्रारम्भिक अनुसन्धानका आधारमा विद्युत् सर्ट भएर आगो लागेको अनुमान गरिएको प्रहरीले जनाएको छ।
आगलागीका कारण ओम काष्ठ मिल उद्योग, रिकन्डिसन तथा हेल्मेट पसल, बासु फर्निचर, घिसिङ अटो रिकन्डिसन, रङ पसल, प्रेम गौतम रिकन्डिसन, मोबाइल पसल, मिठाइ पसल, हार्डवेयर पसल, चिया पसल, हिमेस गौतमको फर्निचर पसल, चटपटे तथा किराना पसल, कस्मेटिक पसल र स्टेशनरी पसलमा क्षति पुगेको छ।
आगो नियन्त्रणका लागि जिल्ला प्रहरी परिसर काठमाडौंबाट प्रहरी उपरीक्षक दानबहादुर थापाको नेतृत्वमा १०० जना, सामाखुसीस्थित विपद् व्यवस्थापन टोलीबाट प्रहरी निरीक्षक हिरा थापा मगरको कमान्डमा २५ जना तथा सिनामंगलबाट सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक हेराम कुँवरको नेतृत्वमा ५० जना गरी कुल १७५ जना सुरक्षाकर्मी परिचालन गरिएको थियो।
त्यसैगरी, आगो निभाउन ९ वटा दमकल र ३ वटा पानी ट्यांकर प्रयोग गरिएको थियो। स्थानीय बासिन्दाको सक्रिय सहयोगपछि करिब दुई घण्टापछि राति ११ बजेतिर आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
घटनाबाट भएको क्षतिको यकिन विवरण संकलन गर्ने तथा आगलागीको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार
