काठमाडौं । सम्पत्ति छानबिन आयोगको छानबिन विवादमा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ ।
प्रधानन्यायाधीश डा।मनोजकुमार शर्मा, न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको पूर्ण इजलासमा बिहीबार ९साउन १४० सम्पत्ति छानबिन आयोगको कामकारबाही रोक्ने वा नरोक्ने विषयमा अन्तरिम आदेशबारे दुवै पक्षबीच छलफल भएको हो ।
सम्पत्ति छानबिन आयोगको गठन र छानबिनमा वैधानिकताको प्रश्न उठाउँदै पूर्वन्यायाधीश फोरम नेपालको अध्यक्ष एवं सर्वोच्च अदालतबाट सेवानिवृत्त न्यायाधीश टोपबहादुर सिंह ठकुरी, अधिवक्ता डा।प्रेमराज सिलवाल, लिगल इनोभेसन एन्ड रिसर्च सेन्टरका संस्थापक अधिवक्ता मनिराम उपाध्याय र मानबहादुर लामिछानेले सर्वोच्चमा भिन्नाभिन्नै रिट दिएका थिए ।
यसअघि, सर्वोच्चले आयोगले उजुरी लिने कार्य र अनुसन्धान रोक्न सर्वोच्चबाट जारी अल्पकालीन अन्तरिम आदेश अनुरुप सूचना निकालेर आफ्नो कामकारबाही तत्कालका लागि स्थगन गरेको थियो । सर्वोच्च अदालतले सम्पूर्ण काम यथास्थितिमा राखेर सरकार, आयोग र रिट निवेदकलाई बिहीबारका लागि छलफलमा डाकेको थियो ।
यसअघि जारी अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा सर्वोच्चमा सुनुवाइ सकिएका कारण आदेश आउने तयारी छ । सर्वोच्चको अन्तरिम आदेशपछि असार ३२ गते सूचना जारी गर्दै कामकारबाही तत्कालका लागि स्थगित गरिएको जनाएको थियो ।
